उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

बजारमा गुणस्तरहिन खाद्यबस्तु छ्यापछ्याप्ती



दैनिक उपभोग्य वस्तुहरु पानी, दुध लगायतका खाद्यपदार्थहरु बढी मात्रामा गुणस्तरहिन भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक बर्ष २०७१÷७२ मा गरेको अनुसन्धानमा बजारमा पाईने दैनिक उपभोग्य वस्तुहरु मध्ये दुधजन्य पदार्थ र पानी परिक्षणका क्रममा बढी गुणस्तरहिन भेटिएको हो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले आर्थिक वर्ष २०७१÷७२ मा गरेको गुणस्तरियताको परिक्षण क्रममा कुल ५१२ वटा नमुनाहरु मध्ये ५३ वटा वस्तुहरु गुणस्तरहिन भेटिएको हो । त्यसमध्ये पानी र दुधजन्य पदार्थ बढी गुणस्तरहिन भेटिएको छ । विभागले कुल ५१२ नमुना परिक्षणको क्रममा १६.८ प्रतिशत खाद्यवस्तुहरु गुणस्तरहिन भेटिएको छ । पानीमा गरेको कुल ५२ परिक्षणहरु मध्ये १८ वटामा गुणस्तरहिन भेटिएको हो । प्रतिशतमा यो ३४.६२ प्रतिशत हुन आउछ । त्यस्तै दुधजन्य पदार्थहरुको कुल नमुना परिक्षण २० वटा मध्ये १४ वटामा कम गुणस्तर भेटिएको हो । यो प्रतिशतको हिसावले कुल २० वटा नमुनाको ७०.०० प्रतिशत हुन आउछ ।
विभागले गरेको अनुसन्धान तथा परिक्षणको क्रममा पानी उत्पादक कम्पनीहरुले प्राय मात्रामा अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेको तथा पानीमा आँखैले देखिने अखाद्य बस्तुहरु लेउ र कोलीफर्म भेटिएको हो । त्यस्तै दुध र दुधजन्य पदार्थहरुमा २० वटाको नमुना परिक्षण मध्ये १४ वटा नमुनाहरुमा कोलिफर्म तथा न्यून गुणस्तर भेटिएको छ । विभागको अनुगमन तथा परिक्षणका क्रममा हिमाल मिनरल वाटर प्रा.लि मातातिर्थ काठमाडौंले अनुज्ञापत्र नलिई पानी उत्पादन तथा बिक्रि बितरण गरेको पाईयो । साथै यसले उत्पादन गरेको पानी पनि परिक्षणका क्रममा न्यूनस्तरको भेटिएको छ । त्यस्तै गोदावरी मिनरल वाटर प्रोडक्टस वडिखेल ललितपुरद्धारा उत्पादित पानीमा कोलिफर्म भेटिएको छ ।
पानी तथा दुधजन्य पदार्थहरु दैनिक अत्यावश्यक उपभोग्य पदार्थ भएकाले विभागले पानी र दुधजन्य पदार्थहरुको अनुसन्धान तथा परिक्षणमा बढी जोड दिएको बताउँछन– वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा विभागका प्रवक्ता पुर्णचन्द्र वस्ती । आर्थिक वर्ष २०७१÷७२ मा विभागले विभिन्न ५३ वटा खाद्यवस्तु उत्पादक कम्पनीहरुलाई गुणस्तरहिन बस्तु उत्पादन तथा विना अनुमति बिक्रि बितरण गरिएको मुद्दामा जिल्ला प्रशाशन कार्यलयमा मुद्दा दायर गरेको छ ।
संयूक्त बजार अनुगमन निर्देशिका अनुसार बजार अनुगमन गर्ने गरेको भएपनि यो पर्याप्त नभएको वस्ती वताउँछन । बजारमा बढ्दो गुणस्तरहिन खाद्यवस्तुहरुको बिक्रि बितरण तथा उत्पादनलाई नियन्त्रण गर्नको लागि देशभरि नै अनगमन, अनुसन्धान तथा परिक्षण जस्ता संगठन संरचना हुन आवश्यक रहेको उनले वताए । हाल विभागको काठमाडौं बाहिर बिराटनगर, भैरहवा, हेटौंडा र धनगढीमा गरी ४ वटा क्षेत्रिय कार्यायहरु रहेका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमल्सिना उपभोक्ता हित तथा अधिकार संरक्षणको लागि राज्यको उपस्थिती बलियो हुनपर्ने बताउँछन् । “उपभोक्ता आफैं पनि स्वयं सचेत र वस्तु तथा सेवा उत्पादक कम्पनीहरु पनि ईमान्दार बन्न सके आंशिक रुपमा भएपनि गुणस्तरहिन खाद्यवस्तुहरुको बिक्रि वितरण तथा उत्पादनमा कमि आउँछ” तिमल्सिनाले वताए । (http://arthabyapar.com बाट)