उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

आयल निगमले भारतबाट ल्याउने तेलमा पटक-पटक मिसावट, कारवाही फितलो हुँदा विकृति बढ्यो


नेपाल आयल निगमले ८० हजार लिटर डिजलमा मट्टितेल मिसावटको गम्भीर अपराधको रुपमा लिँदै अनुसन्धान तीब पारेको छ।

शनिबार भारतको सिलिगुडीबाट झापाको चारआलीमा ल्याइएका ४ वटा डिजल ट्यांकरमा मट्टितेल मिसाइएको पाइएपछि समिति नै गठन गरेर अनुसन्धान अघि बढाइसकेको छ। निगमकी प्रबन्धक कमला न्यौपानेको अध्ययन समितिले चारआली डिपो पुगेर स्थलगत अध्ययन थालेको छ।

समितिले ट्यांकरमा रहेको डिजलको नमूना काठमाडौंको प्रयोगशालामा पठाएको छ।

‘नमूना परीक्षणपछि अनुसन्धानलाई थप अगाडि बढ्न सहयोग गर्नेछ,’ निगमका उपनिर्देशक विनितमणि उपाध्यायले भने, ‘अहिले कसले यस्तो गर्‍यो भन्न सक्ने अवस्था छैन। हामीले चारआली प्रहरीलाई पनि यस बारेमा छानविन गर्न पत्र काटेका छौं।’

उपाध्यायले प्रहरीले पनि छानविन अघि बढाएको बताउँदै भने-‘दोषी पाइएमा ट्यांकर ६ महिनालाई निलम्बन गरिनेछ भने चालक पनि ६ महिना ट्यांकर चलाउन रोक लगाइनेछ।’

यस्तै, ट्यांकर ढुवानी व्यवसायी अर्थात पेट्रोल पम्पका संचालकको पनि मिलेमतो पाइएमा ६ महिनासम्मको लागि सबै खारेज हुनेछ। मिसावटका अपराधमा संलग्न व्यवसायी र प्रयोग भएका चारवटा ट्यांकरलाई अनुसन्धान गर्ने तयारीमा रहेको निगमले जनाएको छ। मिसावट पुष्टि भएपछि ट्यांकर जफत हुने र व्यवसायी पनि कारबाहीमा पर्नेछ।

मिसावट भएको पुष्टि भएपछि थप कारबाहीको लागि निगमको गुणस्तर नियन्त्रण तथा अनुगमन विभागले अनुसन्धान गर्ने उपाध्यायले बताए।

ट्यांकरमा पाँच वटा चेम्बर हुने गर्छ। एक चेम्बरमा ४ किलोलिटर अर्थात् ४ हजार लिटर तेल हुने गर्दछ।

निगमको कर्मचारीदेखि पेट्रोलियम व्यवसायीसम्मको संलग्नताको आशंका

निगमको स्रोतका अनुसार मिसावटमा निगमका केही कर्मचारीको समेत संलग्नता रहेको बताएको छ। ‘यस घटनामा निगमका केही कर्मचारीको पनि संलग्नता रहेको आशंका गरिएको छ,’ स्रोतले भन्यो, ‘तर अहिले दोषी भनेर पुष्टि भइसकेको छैन।’

स्रोतका अनुसार ट्यांकरमा निगमले जडान गरेको लकिङ सिस्टमका आधारमा निगमका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरिएको हो।

‘ट्यांकरमा भएको लकिङ सिस्टम चालकहरुले मात्र खोल्न सक्दैन,’ स्रोतले भन्यो, ‘निगमका कर्मचारीले मात्र खोल्न सक्ने वा त्यस्तै खालको लकिङ कोड तथा सिस्टम बनाइएको हुन्छ। यस बारेमा चालकलाई समेत थाहा दिइएको हुँदैन।’ निगमको उच्च नेतृत्वले कडा कारवाही नगर्दा मिसावटको समस्या नरोकिएको स्रोतले बतायो।

यस अघि पनि यस्तै भएको थियो

मिसावटको घट्ना यो पहिलो होइन। यस्ता घटनाहरु पटकपटक हुने गरेका छन्। यस्तै घटना २०७७ असोजमा भएको थियो। सो समय २० हजार लिटर पेट्रोल ट्यांकरमा मट्टितेल मिसाएको आरोपमा प्रहरीले एक चालकलाई पक्राउ गरेको थियो।

यस्तै २०७७ वैशाखमा पनि ४ वटा ट्यांकरमा मट्टितेल मिसाइएको पुष्टि भएको थियो। सो समयपनि ८० हजार लिटर डिजलमा सस्तो कोटाको मट्टितेल मिसाइएको छानविन गर्दा पुष्टि भएको थियो।

किन बारम्बार यस्तो मिसावट गरिन्छ ?

नेपालमा डिजल र मट्टितेलको मूल्य एउटै छ। नेपालमा फरक मूल्य हुँदा डिजल भन्दै मट्टितेल बेच्ने विगविगी थियो। डिजल र मट्टितेलको भाउ फरक हुँदा आर्थिक अपराध मौलाएको भन्दै एउटै पारिएको थियो।

उनका अनुसार भारतले विहारमा आफ्ना नागरिकलाई कोटा तोकेर मट्टितेल प्रतिलिटर भारु ८ देखि १० रुपैयाँ सस्तो दिने गरेको छ। यसरी भारत सरकारले मट्टितेलमा दिएको सहुलियतले हाल नेपालको भन्दा नेपाली लगभग ५० रुपैयाँ सस्तो रहेको उपाध्यायले बताए।

यसरी व्यवसायीले नै मिलेमतो गरेर सिलिगुडी डिपोबाट तेल भेरर आएका ट्यांकरको डिजल त्यहाँको पम्पलाई बिक्री गर्ने र त्यही सहुलियतको मट्टितेल लोड गरेर नेपाल ल्याउने गरिएको उनी बताउँछन्।

प्रतिलिटर लगभग ५० रुपैयाँ नाफा हुने भएपछि ट्यांकरधनी, निगमका केही कर्मचारी र व्यवसायीहरुले नै त्यसरी मिसावट गर्ने गरेको निगम स्रोतको दाबी छ।