from Onlinekhabar.com
१३ फागुन, काठमाडौं । आपूर्तिमन्त्री गणेशमान पुन माओवादी जनयुद्धका बेला बम र बारुदसँग खेलेका नेता हुन् । तर, बुधबार उनी ग्यासका सिलिण्डर देखेर डराए ।
मन्त्री पुन बुधबार सरकारी दलबलसहित ग्यास उद्योगको आकस्मिक अनुगमनका लागि थानकोट हुँदै धादिङसम्म पुगेका थिए । मन्त्रीले उद्योगभित्र ग्यास सिलिण्डरको ‘हाइड्रोलिक टेस्ट’ कसरी गरिन्छ भन्ने जान्न चाहेका थिए, तर उनको इच्छा पूरा भएन ।
काठमाडौंमा ग्यास किन सहज रुपमा पाइएको छैन भन्ने बुझ्न हिँडेका मन्त्री पुनको अनुगमन यात्राको नालीबेली यस्तो छः
थानकोटमा मेसिन बिग्रिँदा इन्धन वितरणमा ढिलाइ
सिंहदरबारस्थित आपूर्ति मन्त्रालयबाट बिहान ९ बजे निस्केको आकस्मिक अनुगमन टोली सुरुमा थानकोटस्थित नेपाल आयल निगमको डिपोमा गयो ।
थानकोट डिपोले इन्धन भर्न ढीलो गर्दा काठमाडौं उपत्यकाको इन्धन आपूर्ति व्यवस्था सहज हुन नसकेको विश्लेषण गर्दैर् मन्त्री पुनको टोली छड्के जाँचका लागि निस्किएको थियो ।
थानकोट डिपोमा पेट्रोल र डिजेलका दुई-दुईवटा लोड गर्ने मेसिन अर्थात टपिङ मेसिनहरु रहेछन् । तर, तीमध्ये एक-एक वटा मात्रै सञ्चालनमा आएको भेटियो । दुईवटा टपिङ मेसिन बिग्रिएकाले डिपोले समयमै इन्धन लोड गर्न नसकेको डिपोका अधिकारीहरुले मन्त्रीलाई सुनाए ।
मन्त्री पुनले दुईवटा टपिङ मेसिन तत्काल मर्मत गरी बजारमा छिटो इन्धन पठाउने व्यवस्था गर्न थानकोट डिपोलाई निर्देशन दिए
मन्त्रीको टोलीले डिपोमा लोड गर्न लागिएका ट्यांकरको इन्धनको गुणस्तर परीक्षणका लागि नमूना संकलनसमेत गरेको छ ।
सुगम ग्यास उद्योगमा यस्तो देखियो
थानकोट डिपोको निरीक्षण सकेर मन्त्री पुनको टोली धादिङको खानीखोलास्थित सुगम ग्यास उद्योगमा पुग्यो । यो उद्योग ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेको हो । जसले केही वर्षअघि फुटरिङ काटेर ग्यास बिक्री वितरण गरेका थिए ।
सुरुमा मन्त्रीले ‘हाइड्रोलिक टेस्ट’ का बारेमा जिज्ञासा राखे । तर, त्यहाँ हाइड्रोलिक टेस्ट गर्ने मेसिन नभएको र त्यसका लागि आवश्यक पर्ने पानी पोखरीसमेत मर्मत संहार नभएको पाइयो । हरेक पाँच वर्षमा अनिर्वायरुपमा हाइड्रोलिक टेस्ट गर्नुपर्ने र सिलिण्डरमा खराबी आए त्यसअघि नै पनि यस्तो परिक्षण गर्नुपर्ने आचारसंहिता छ ।
सुगम ग्यास उद्योगमा २० वटा भरी र १० वटा खाली सिलिण्डको तौल परीक्षण गरियो । जसमध्ये ६ वटामा बढी तौल भेटियो भने एउटा सिलिण्डरमा लोगो परिवर्तन गरेको पाइयो । लोगो परिवर्तन गरिएको सिलिण्डर सरकारले जफत गरेको छ ।
कानूनतः ग्यास सिलिण्डको तौल तोकिएकोभन्दा १५० ग्रामसम्म घटी वा बढी भए स्वाभाविक मानिन्छ । तर, सुगममा परीक्षण गरिएका ३० सिलिण्डरमध्ये ६ वटा सिलिण्डरमा बढी तौल भेटिएको छ । भित्र लेदो जमेका कारण सिलिण्डरमा तोकिएकोभन्दा बढी तौल भेटिएको हुनसक्ने सरकारी टोलीमा संलग्न प्राविधिहरुले बताए । यस उद्योगमा तोकिएकोभन्दा २३० ग्रामसम्म बढी तौल भेटिएको छ ।
उद्योग सञ्चालनमा व्यवस्थापनले लापरवाही गरेको टोलीको ठहर छ ।
कम्पनीले भरेर बजारमा पठाउन लागेका सिलिण्डरहरु आधा नभएर पुरै सिण्डिर ग्यास थियो । सरकारले केहीदिन अघिमात्रै पूरा सिलिण्डर ग्यास वितरणको व्यवस्था मिलाउने घोषणा गरेको थियो ।
‘भाइ, शिद्धार्थ ग्यासका सिलिण्डर किन रंगाएको ?’
त्यसपछि मन्त्रीको टोली अनुगमन गर्न धार्केस्थित सिद्धार्थ ग्यास उद्योगमा पुग्यो । उद्योगमा कामदारहरुले धमाधम सिलिण्डहरु रंगाइरहेका थिए ।
‘अँ हो, हामीले आफ्नै किचनमा ग्यास नाम गरेको बम पो राखेका हुँदा रहेछौं,’ मन्त्री पुन झस्किए- ‘यो त अति भो ।’
‘भाइ यो सिलिण्डरहरु किन रंगाएको ?’ मन्त्रीको टोलीमा गएका राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगका कर्मचारीलाई सोधे ।
‘ग्यास भरेर बजार पठाउन,’ उद्योगका कर्मचारीले जवाफ दिए । मञ्चका अध्यक्ष महर्जनले हाइड्रोलिक टेस्ट गरेको/नगरेको बारे जिज्ञासा राखे । उद्योगका केही कर्मचारीहरु अलमलमा परे भने केहीले हाइड्रोलिक गरेको जवाफ दिए । जब महर्जनले ग्यासको रेगुलेटर घुसाउने ठाउँ (नजल) मा डटपेनले थिचे । हृवार्रर ग्यास आयो ।
त्यसपछि महर्जन जंगिए , ‘मन्त्रीज्यूको टोली अनुगमनमा आएको देख्दा-देख्दै यसरी ढाँट्ने ? हाइड्रोलिक टेस्ट गरेको यही हो ? यसरी उपभोक्ताको सुरक्षा खतरामा राख्ने ? यो ग्यास हो कि बम, हँ ? पड्किएर मान्छे मरे भने को जिम्मेवार हुन्छ ?’
‘अँ हो, हामीले आफ्नै किचनमा ग्यास नाम गरेको बम पो राखेका हुँदा रहेछौं,’ मन्त्री पुन झस्किए- ‘यो त अति भो ।’
जनयुद्धका क्रममा सैन्य मोर्चा सम्हालेर ग्रिनेड, बम र बारुदसँग खेलेका मन्त्री पुन ‘ग्यास बम’सँग भने निकै आत्तिए । ग्यास उद्योगीले जानाजान उपभोक्तालाई बम बिक्री गरिहेको भन्दै मन्त्री पुन गम्भीर बने ।
शिद्धार्थ ग्यास उद्योगले ‘डेट एक्सपायर’ भइसकेका सिलिण्डरलाई रंगाएर नयाँ बनाई बजारमा पठाउन लागेको अवस्थामा सरकारी टोलीले फेला पारेको हो ।
सामान्यतया ग्यास सिलिण्डरको आयु २० वर्षको हुन्छ । तर, सो उद्योगले २५ वर्ष पुराना सिण्डिरलाई पनि हाइड्रोलिक टेस्ट नगरी रंगाएर बजार पठाउन लागेको रहेछ ।
अनुगमनमा गएका नापतौल तथा गुणस्तर विभागका सदस्यले सिलिण्डरहरुको नमूना तौल परीक्षण गर्यो । परीक्षणका क्रममा सिलिण्डरको तौल तोएकिोभन्दा ४ सय ३० ग्राम बढी फेला पर्यो । भित्र लेदो भएकाले तौल बढी भएको हुन सक्ने सरकारी अधिकारीहरुले बताए ।
‘यो उद्योगलाई के गर्नुपर्ला ?’ मन्त्री पुनले टोलीमा भएका सरकारी अधिकारी, उपभोक्तावादी र पत्रकारहरुलाई सोधे । सबैले यो गम्भिर समस्या भएकाले सिलिण्डर सिल गरेर आवश्यक कानूनी प्रक्रियामा जान सुझाए । मन्त्रीले सुझाब माने । अनि, तत्कालै सिल गर्न निर्देशन दिए ।
तर, सो समय सरकारी टोलीमै गएका नापतौल तथा गुणस्तर विभागका एक अधिकृत भने ग्यास उद्योगीभन्दा बढी चिन्तित देखिए । कानूनीरुपमा हाइड्रोलिक टेस्ट गर्नैपर्ने प्रावधान नरहेकाले सिल गर्न नमिल्ने ती कर्मचारीले लविङ गरे ।
उद्योगका कर्मचारीहरु मन्त्रीलाई हाइड्रोलिक टेस्ट गरेर देखाउन तम्सिए । तर, हावा प्रवाह गर्ने पाइप तीन ठाउँमा भाँचिएको रहेछ । उद्योगका कर्मचारीहरुले त्यसको नटसमेत खोल्न सकेनन्
तर, विभागकै महानिर्देशक विश्व पुडासैनीले सिल गर्न निर्देशन दिए । तथापि ती कर्मचारीले सिल गर्न सहयोग गरेनन् । बरु मन्त्री आफैं धागो लिएर अघि सरे । महानिर्देशक पुडासैनी, उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ पनि अघि सरे । मन्त्रीको निजी सचिवालयका सदस्यहरु पनि उक्तिकै सक्रिय थिए ।
मन्त्रीको अनुगमन टोलीले रंगाइसकेका ३ सय ६ वटा र काम नलाग्ने भनेर राखिएका ५ सय सिलिण्डर सिल गर्यो । उद्योगका कर्मचारीहरुले आफूहरुले काम नलाग्ने भनेर छुट्याएका सिलिण्डहरुलाई पनि रंगाउन उद्योगका सञ्चालक रामचन्द्र संघाईले निर्देशन दिएपछि आफूहरुले रंगाएको बताएका थिए । कम्पनीमा हाइड्रोलिक टेस्ट गर्ने मेसिन र पोखरी दुबै भेटिएनन् ।
मन्त्री पुनले उद्योग सञ्चालकलाई तुरुन्तै सम्बन्धित निकायमा गएर प्रष्टीकरण दिन निर्देशन दिए । उद्योगलाई कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउने मन्त्री पुनले प्रतिवद्धता जनाए । ‘उपभोक्ताको सुरक्षासँग खेलवाड गर्नेलाई सरकारले कानूनसम्मत हदैसम्मको कारवाही गर्छ,’ उनले भने ।
उपभोक्ता हित संरक्षण विभागका निर्देशक श्रेष्ठले यस्तो कसुर गर्ने उद्योगी/व्यवसायीलाई १४ वर्षसम्म जेल सजाय र ५ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानूनी व्यवस्था रहेको बताए । तर, नेपालमा अहिलेसम्म कसैलाई पनि यस्तो कारवाही नगरिएको उनले जानकारी दिए ।
एचपी ग्यासमा ‘हाइड्रोलिक टेष्ट’को इच्छा
मन्त्री पुनको टोली नजिकै रहेको एचपी ग्यास उद्योगमा पुग्यो । तर, त्यहाँका कर्मचारीले अनुगमन टोली आउँदैछ भन्ने सुइँको अघि नै पाइसकेका रहेछन् ।
लिंकेज सिलिण्डरमा भर्खरै मात्र पानी हालिएको पाइयो । त्यहाँ हाइड्रोलिक टेस्ट गर्ने मेसिन पनि थियो । तर, बर्षौं नचलाइएकाले उक्त मेसिनमा माकुराको जालो लागिसकेको थियो ।
उद्योगमा साढे ५ लाख लिटर क्षमताको पानी पोखरी रहेछ । सरकारी मापदण्डमा कम्तिमा ५ लाख लिटर क्षमताको पोखरी हुनुपर्ने व्यवस्था छ ।
मन्त्री पुनले हाइड्रोलिक टेस्ट गरेको हेर्ने इच्छा राखे । उद्योगका कर्मचारीहरु मन्त्रीलाई हाइड्रोलिक टेस्ट गरेर देखाउन तम्सिए । तर, हावा प्रवाह गर्ने पाइप तीन ठाउँमा भाँचिएको रहेछ । उद्योगका कर्मचारीहरुले त्यसको नटसमेत खोल्न सकेनन् र मन्त्रीका निजी सचिव अर्जुन भण्डारीले नट खोल्नुपर्यो ।
हावा र पानीको दुबैको संयोजन मिलाएर हाइड्रोलिक टेस्ट गरी सिलिण्डरभित्र भएको लेदो र फोहोर सफा गर्ने गरिन्छ । तर, हावा दिने पाइप बिग्रिएकाले पानीले मात्रै परीक्षण गरेर मन्त्रीलाई देखाइयो ।
सो कम्पनीमा एउटा पनि खाली सिलिण्डर थिएनन् । २/४ सय सिलिण्डरहरु भरिएको अवस्थामा थिए । सबै सिलिण्डर बजारमा भएकाले खाली नभएको उद्योगका कर्मचारीहरुले जानकारी गराए । तर, स्टोरमा पर्याप्त ग्यास रहेको उनीहरुले बताए ।
सामान्य अवस्थामा महिनामा ५ वटासम्म ग्यास बुलेट आउँथे तर नाकाबन्दीपछि भने ४/५ महिनामा जम्मा ९ बुलेट ग्यासमात्रै आएको कर्मचारीले मन्त्रीलाई सुनाए ।
धार्केमा मासुभात खाएर फिर्ता
ग्यास उद्योगहरुको यति अनुगमन गर्दा अपरान्ह ४ बज्यो । केही पेट्रोलपम्पहरुमा पनि अनुगमन गर्ने मन्त्रीको चाहाना थियो । तर, समयको अभावले पेट्रोलपम्मको अनुगमन गर्न सम्भव भएन ।
अपरान्ह साढे ४ बजे मन्त्रीको टोलीले धार्केमा मासुभात खाएर काठमाडौं फर्कियो ।
‘मन्त्रीज्यू त जनयुद्धमा बम बारुदसँग खेलेको मान्छे, ग्यास पड्किन्छ भन्दा निकै अचम्मित र भयवित देखिनुभयो नि ?’ खाना खानेबेलामा पत्रकारले सोधेको प्रश्नमा मन्त्री पुनले जवाफ दिए- ‘त्यसबेला त हामी ज्यानको माया मारेर युद्धमा होमिएका थियौं । कि मरिन्छ कि मारिन्छ भन्ने थियो । तर, आफ्नै किचनमा ग्यास बम छ, र त्यो जुनसुकैबेला पड्किन सक्छ भन्ने थाहा पाएपछि कसको मन डराउँदैन र ?’
Central Office Balaju –16, Kathmandu
crinvestigationforum@gmail.com
Tel: +977 1 4359459
Mob: 9841078209, 9841519971
Fax: +977 1 4359459
“खाद्यवस्तु स्वस्थ्य राख्नको लागि उत्पादन, भण्डारण र वितरण कार्य व्यवस्थित गरौं ।”
“स्वस्थ्य खाना उपभोक्ताको चाहाना ।”
“स्वस्थ्य खाऔं निरोगी भएर बाचौं ।”
“स्वस्थ्य खाना पाउने अधिकार नयाँ संविद्यानमा सुनिश्चित गरियोस् ।”
“उपभोक्तालाई स्वस्थ्य बस्तु उपलब्ध गराउनु प्रदायकको दायित्य हो ।”
“विषाधीको प्रयोग घटाऔं कृषि उत्पादनलाई स्वस्थ्य बनाऔं ।”
“म्याद नाघेको खाद्यवस्तु उपभोग नगरौं ।”
“ख्राद्यवस्तुमा अखाद्यवस्तुको मिसाउनु अपराध हो ।”
“उपभोक्ता अधिकार हामी सबैको सरोकार ।”
“उपभोक्ता अधिकारको सम्मान गरौं ।”
“हामी सबै उपभोक्ता, हाम्रो अधिकार उपभोक्ता अधिकार । ”
“उपभोक्ता अदालत गठन गरौं ।”
“लेवल हेरेर सामान खरिद गरौं ।”