उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

उपभोक्ता ठग्ने उद्योगीलाई बचाउन खेल सुरु


from www.baahrakhari.com 

काठमाडौं । ग्यास उद्योगमा शीलबन्दी गरेको दुइघण्टा बित्न नपाउँदै दोषी देखिएका उद्योगीलाई कारबाहीबाट जोगाउन खेल सुरु भएको छ ।

ठगीको मुद्धा लगाएर कारबाही गर्नुपर्ने उद्योगलाई एक हजार रुपैयाँ जरिवाना तिराएर उम्काउने प्रयास भइरहेको छ । नापतौल तथा गुणस्तर नियन्त्रण विभागले दोषि देखिएका व्यापारीलाइ एक हजारसम्म जरिवाना लिएर छाड्नुपर्ने बताएको छ ।

“दोषी देखिएका उद्योगलाई एक हजार रुपैयाँसम्म मात्र जरिवाना गर्न पाइन्छ,” विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, “त्योभन्दा बढी लिएर कारबाही गर्न मिल्दैन ।” उद्योगीले हाइड्रोलिक नगरेको र तोकिएअनुसार ग्यास नभरेको पाइएमा विभागले एक हजार रुपैयाँ भन्दा बढी लिन नपाइने उनको भनाइ छ ।

यसअघि पेट्रोलपम्पले चिप्स राखेर उपभोक्ता ठगी गर्दा व्यापारीमाथि ठगी अन्तर्गत मुद्धा दायर गरिएको थियो । तर, अहिले उपभोक्ता नै ठगिदा पनि सोही अनुसार मुद्धा दायर नगरी उम्काउने प्रयास गरिएको हो ।

उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमल्सेनाले पम्पमा चिप्स राखेर ठग्ने र अहिले कम तौलका सिलिन्डरबाट उपभोक्ता ठग्ने एकै प्रकृतिका घटना भएको बताए ।

उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष ज्योति बानियाँले कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐन आकर्षित हुने बताए । “उपभोक्ता ठग्नेलाई एक हजार रुपैयाँ लिएर छोड्न मिल्दैन,” उनले भने, “उपभोक्ता ठग्नेलाई नियमअनुसार कारबाही हुनुपर्छ ।”