उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

‘पाँच स्थानमा इन्धन भण्डारण केन्द्र’


झापा । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पाँच स्थानमा इन्धन भण्डारण केन्द्र सञ्चालनमा ल्याइने बताएका छन् ।

देशमा अहिले भइरहेको इन्धन अभावको समस्या आउँदा दिनमा हुन नदिन पाँच ठाउँमा इन्धन भण्डारण केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

क्रान्तिकारी पत्रकार संघ झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अझै भारतबाट पर्याप्त इन्धन नआएकाले देशमा पेट्रोलियम पदार्थको अभाव भइरहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा पेट्रोलियम पदार्थ आपूर्ती सम्वन्धी सम्झौता हुन सक्ने बताए । मन्त्री पुनले चीनसँग त्यस बिषयमा प्रारम्भिक सम्झौता भइसकेको उल्लेख गर्दै नेपालमा खपत हुने पेट्रोलियम पदार्थको ३० देखी ४० प्रतिशत चीनबाट आयात गर्ने योजना रहेको बताए ।

उनले दिर्घकालिन र अल्पकालिन योजना बनाएर चीनसँग व्यापार बिस्तार गर्ने जानकारी समेत दिए ।

अहिले ७० प्रतिशत मात्रै इन्धन भारतबाट आइरहेको भन्दै उनले बाँकी ३० प्रतिशत इन्धन चीनबाट ल्याउन चीनसँग छिट्टै पारवहन सम्झौता गरिने जानकारी दिए ।