उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

तरकारी बजार बिचौलियाको कब्जामा



तरकारीको मूल्य बढाउन कालिमाटी तरकारी बजारकै मिलेमतो

५ मंसिर, काठमाडौं । बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष सरकारी अध्ययनले निकालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार गरेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले किसानले उत्पादन गरेको तरकारी बिचौलियाले एक सय २२ प्रतिशतसम्म नाफा खाएर उपभोक्तालाई बेच्ने गरेको देखाएको हो ।

तरकारीको मूल्य ह्वात्तै बढेपछि विभागले गत २८ कात्तिकदेखि ४ मंसिरसम्म काभ्रे, धादिङ, नुवाकोट र मकवानपुरका तरकारी उत्पादनको पकेट क्षेत्रमा अनुगमन गरेको थियो । सोही अनुगमनको आधारमा तयार गरिएको प्रतिवेदनले कृषकले उत्पादन गरेको तरकारी बिचौलियाको पाँच चरण सम्म पार गरेर उपभोक्तामा पुग्ने देखाएको छ ।

विभागले पाँचखाल, धादिङ, नुवाकोट, दामन, पालुङ, बज्रबाराही र टिष्टुङको तरकारी संकलन केन्द्र र काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल विकास समितिको थोक तथा खुद्रा मूल्य विश्लेषण गरी यस्तो निश्कर्ष निकालेको हो ।

काभ्रेमा ५० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने काउली उपभोक्तासम्म पुग्दा सय रुपैयाँसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, काभ्रेमा ४० रुपैयाँ मूल्य पर्ने बन्दाको खुद्रा मूल्य सय रुपैयाँ, ४५ रुपैयाँ प्रतिकिलो मूल्य पर्ने गोलभेंडाको सय रुपैयाँ र ७० रुपैयाँ प्रतिकिलो मूल्य पर्ने बोडीको उपभोक्ता मूल्य एक सय २० रुपैयाँसम्म पुगेको प्रतिवेदनमा जनाइएको छ ।

धादिङमा प्रतिकिलो ६० रुपैयाँ पर्ने काउलीको उपभोक्ता मूल्य सय रुपैयाँ, ५० रुपैयाँ प्रतिकिलो कृषक मूल्य भएको बन्दाको उपभोक्ता मूल्य एक सय, ४८ रुपैयाँ प्रतिकिलो कृषक मूल्यको गोलभेंडाको उपभोक्ता मूल्य एक सय, ५५ रुपैयाँ प्रतिकिलोको एक सय २० र ७० रुपैयाँ प्रतिकिलो मूल्यको बोडीको उपभोक्ता मूल्य एक सय २० रुपैयाँसम्म भेटाइएको प्रतिवेदनमा उल्लेख छ ।

वास्तविक किसानदेखि उपभोक्ताकोमा तरकारी आउँदा तीन देखि पाँच चरणसम्म पार गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा जनाइएको छ ।

‘उत्पादकले उत्पादन गरेको तरकारी स्थानीय मध्यस्थकर्ता, ठूला थोक विक्रेता, साना थोक विक्रेता, खुद्रा विक्रेता हुँदै उपभोक्ताकोमा पुग्छ,’ प्रतिवेदनमा जनाइएको छ ।

विभागले गरेको मूल्य विश्लेषणले एक किलो बन्दा उभोक्ताकोमा पुग्दा १२२ प्रतिशत नाफा बिचौलियाले खाएको देखाएको छ । त्यस्तै, गोलभेंडामा पनि १२२ प्रतिशत, सिमीमा ११८ प्रतिशत, काउलीमा ८२ प्रतिशत र बोडीमा ७१ प्रतिशतसम्म नाफा बिचौलियाले खाएका देखिन्छ । कृषकदेखि थोकसम्म आउनै तीन चरण पार गरेको देखिन्छ ।

तरकारीको मूल्यवृद्धिमा कालीमाटी तरकारी तथा फलफूल बजारकै मिलेमतोसमेत देखिएको संकेत प्रतिवेदनले गरेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले तोक्ने दैनिक मूल्यसूची र वास्तविक मूल्यमा धेरै अन्तर रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत २८ कात्तिकको कालीमाटी तरकारी बजार विकास समितिले तोकेको मूल्यसूची र त्यहींको वास्तविक मूल्य अन्तर प्रतिकिलो काउली, बन्दा र बोडीमा १५र१५ रुपैयाँ, सिमीमा २५ रुपैयाँ, मटरकोसामा ३५ रुपैयाँ, परवरमा २० रुपैयाँ, भिन्डीमा २५ रुपैयाँ र रातो आलुमा एक रुपैयाँ देखिएको थियो ।

‘बिचौलियाको अति सय उपस्थितिले उत्पादक किसान काठमाडौंमा तरकारी पठाउनै नचाहेको देखियो,’ अनुगमन टोलीका संयोजक निरज पौडेलले भने । उनका अनुसार बिचौलियाले किसानलाई बजार मूल्यको बारेमा कुनै जानकारी नै दिँदैनन् ।
अधिकांश किसानलाई स्थानीय मध्यस्तकर्तामार्फत नै तरकारी बेच्नुपर्ने बाध्यता रहेको र बिचौलिया अत्यधिक नाफा खाएर किसानलाई न्यूनतम मूल्यमात्र दिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

मूल्य निर्धारणमा सरकारी हस्तक्षेपलाई प्रभावकारी बनाउन प्रतिवेदनमा सुझाइएको छ । त्यस्तै, बिचौलियाको उपस्थिति निश्तेज पार्न कृषक सहकारीको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने, कालीमाटी फलफूल तथा तरकारी विकास समितिको दैनिक मूल्यसूची अनुसार नै त्यहाँका व्यापारीलाई व्यापार गर्न बाध्य पार्नुपर्ने, मध्यस्थताकर्ताको उपस्थिति कमजोर पार्न सहुलियत दरमा कृषि ऋण र बिउबिजन तथा विषादीको सहज उपलब्धता गराउनुपर्ने सुझाव उक्त प्रतिवेदनले दिएको छ ।

उक्त प्रतिवेदन विभागले गत आइतवारमात्रै प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ ।

विभागका महानिर्देशक कुमार दाहालले अनुगमनका कारण पछिल्लो समय तरकारीको मूल्य घटेको बताए । ‘बिचौलियाको उपस्थिति न्यूनीकरण गर्ने हो भने अझै पनि तरकारीको मूल्य धेरै घट्न सक्छ,’ उनले भने । तरकारीको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको उनको भनाई छ ।------------ अनलाइन खवरबाट