उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनालाई तीन प्रश्न


 

पेट्रोलियम ढुवानी व्यवसायीले देशभर इन्धन आपूर्ति रोक्न थालेका छन् । यसले उपभोक्तालाई कस्तो असर पार्ला ?
दसैँ, तिहारजस्ता चाडपर्वको मुखमा अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुन थालेको विषयले आमउपभोक्तालाई चिन्तित तुल्याएको छ । यसले बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुने डर पैदा भएको छ ।

निगम र ढुवानी व्यवसायीबीच भाडादर पुनरावलोकन सम्झौता कार्यान्वयन नभएको निहुँमा उपभोक्तालाई दुःख दिन मिल्छ ?
निगमको व्यवस्थापन र ढुवानी व्यवसायीबीच के–कस्तो सम्झौता भएको छ भन्ने आमउपभोक्ताको चासोको विषय होइन । बजारमा निर्वाध रूपमा पेट्रोलियम पदार्थ उपलब्ध हुनुपर्छ । निगम व्यवस्थापनले आपूर्ति सहजताका लागि सार्थक पहल गर्न सक्दैन भने सरकारले हस्तक्षेप गरेर भए पनि आपूर्ति रोकिन दिनुहुँदैन ।

अत्यावश्यक वस्तुमा पर्ने पेट्रोलियम ढुवानीमा बारम्बार हडताल हुँदा पनि सरकारले कारबाही गर्न किन नसकेको होला ?
सरकारले आवश्यक सेवा संरक्षण ऐन, ०१२ लागू गरेर पेट्रोलियम पदार्थमा हडताल निषेध गरेको छ । कसैले हडताल गर्छ भने कानुनअनुसार कारबाही गर्न सरकार अग्रसर हुनुपर्छ । विगतमा सरकारले कारबाही नगर्दा व्यवसायीको मनोबल बढेर बारम्बार हडताल हुने गरेको छ ।