काठमाडौँ — होटल तथा रेस्टुराँले मेनु मूल्यमाथि चर्को शुल्क लगाएर सर्वसाधारण ठगिरहेका छन् । मेनु प्राइसबाहेक अन्य शुल्कलाई ऐनले रोके पनि धेरैजसोले सेवा शुल्क र भ्याटका नाममा रकम असुलिरहेका छन् । मेनु मूल्यको नियमन गर्ने निकाय नभएका होइनन् । मूल्यकै अनुगमन गर्न साढे ८ सयभन्दा बढी निकाय छन् । तर यी निकाय मौन बसिदिँदा प्रतिदिन सर्वसाधारण ठगिएको ठगियै छन् ।
मापदण्ड बनाएर वस्तुको मूल्य नतोक्दा सर्वसाधारण ठगिएको जानकार बताउँछन् । तर तत्काल अनुगमन र केहीलाई जरिवाना गरे मूल्य नियन्त्रण हुने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
‘केन्द्रीय स्तरमा अनुगमन गर्ने मुख्य दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै हो । पालिकाहरूले पनि अनुगमन गर्नुपर्छ, अनुगमनका क्रममा उपभोक्ता ठगेको देखिए तत्काल २/३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘दुई/चार दिन व्यापक अनुगमन र कारबाही गरे बजार स्वतः सुध्रिहाल्छ । तर नियमनको अधिकार पाएका निकाय सुस्त भइदिए ।’
पालिकाहरूले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन बनाएका छन् । उपभोक्ता संरक्षण ऐनअनुसार वाणिज्य विभागले स्थानीय तहमा निरीक्षक तोकेको छ । तर पनि होटल–रेस्टुराँमा अनुगमन हुन सकेको छैन । यी क्षेत्रमा अनुगमन नहुँदा होटल–रेस्टुराँले उपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धि कर ऐन, ०५२, मूल्य अभिवृद्धि कर नियमावली–०५३ र सर्वोच्च अदालतको आदेशविपरीत ‘मेनु प्राइस’ मा थप शुल्क असुलिरहेका छन् ।
समग्र बजार अनुगमन देखावटी रूपमा मात्रै हुँदा समस्या भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘उपभोक्ता संरक्षण ऐनअनुसार ७७ वटै सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमनको अधिकार छ, तिनले ऐन कार्यान्वयन गर्न सक्छन् । ७ सय ५३ पालिकामा निरीक्षण अधिकृत तोकिएको छ । अनुगमन गर्नकै लागि स्थानीय तहको आफ्नै कानुन पनि छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘तर होटल–रेस्टुराँको मेनु प्राइसमा अनुगमन भएन । बजार अनुगमन भए पनि देखावटी मात्रै भयो ।’
अनुगमनका लागि सातै प्रदेशमा रहने उपभोक्ता हित निर्देशनालय पनि छ । तर उसको काम पनि सुस्त नै छ । ‘कुनै पनि पालिकाले आफ्नोअन्तर्गतको अनुगमन गर्न सकेको छैन । केन्द्रीय कानुन कार्यान्वयन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य तथा आपूर्ति मन्त्रालय हुन्,’ तिमिल्सिनाले भने, ‘अनुगमनमा यी निकाय चुक्दा बजार भद्रगोल भयो । त्यसको फाइदा बिचौलियाले उठाइरहे ।’
उपभोक्तालाई ठगिनबाट जोगाउन सरकारले तत्काल मापदण्ड बनाएर लागतका आधारमा वस्तुको मूल्य तोक्नुपर्ने तिमिल्सिनाले बताए । ‘अहिले प्रयोग भइरहेको वस्तुको गुणस्तरमा पनि प्रश्न छ । गुणस्तरको विषय खाद्य प्रविधिले हेर्ने हो । तर मूल्यमा वाणिज्यले नै हेर्नुपर्छ,’ उनले भने, ‘उपभोक्ताले गुणस्तरीय वस्तु उचित मूल्यमा पाए, नपाएको यकिन गर्न मापदण्ड अनिवार्य छ ।’
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि मूल्य नियन्त्रणको दायित्व वाणिज्यकै भएको बताए । ‘मेनुमाथि थप शुल्क असुल्नेलाई उपभोक्ता संरक्षण ऐनसँगै कालोबजारी ऐन लगाएर कारबाही गर्न सकिन्छ । करिब ८/१० वर्षअघि वाणिज्यले होटलसम्बन्धी निर्देशिका नै जारी गरेको छ,’ उनले भने, ‘तर विभाग स्वयंले ऐन नियम कार्यान्वयन गरेको देखिएन ।’
वाणिज्य विभागसँगै स्थानीय तह र प्रशासनले आफ्नो दायित्व पूरा नगरिदिँदा उपभोक्ता ठगिएको महर्जनको बुझाइ छ । ‘यो दायित्व आन्तरिक राजस्व विभागको पनि दायित्व हो । तर उसले कर उठाउनेबाहेक केही काम गरेन । एक पटक भ्याट लागेको वस्तुमा पुनः भ्याट लाग्दैन । सर्भिस चार्जमा भ्याट लाग्दैन । तर वस्तुको मूल्यसँग जोडेर सर्भिस चार्ज, त्यसमा पनि भ्याट जोडेर ठगी भइरहेको छ,’ महर्जनले भने, ‘यो व्यापक ठगी हो ।’
मूल्य अभिवृद्धि कर नियमावली ०५३ अनुसार ‘मेनु प्राइस’ बाहेक भुक्तानी गर्नुपर्दैन । ठूला होटलमा बास बस्दा मेनुमा उल्लेख गरिएको रकमबाहेक अतिरिक्त तिर्नुपर्दैन । मेनुमा उल्लिखित रकममा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडेर उपभोक्ता ठगिइरहेका छन् । काठमाडौं जिल्ला अदालतले मेनुबाहेक अतिरिक्त रकम लिन नपाउने फैसला गरिसकेको छ । जिल्ला अदालतले ०७९ भदौ पहिलो साता गरेको फैसलामा मेनुमा अतिरिक्त रकम जोड्ने कार्य उपभोक्ता संरक्षण ऐन, ०७५ र मूल्य अभिवृद्धि कर ऐन, ०५२ विपरीत भएको ठहर गरेको थियो ।
मेनु मूल्यमाथिको नियमनमा आफूहरूको ध्यान नपुगेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्विकारे । यस बिषयमा संयोजक तोकेर अनुगमन गरिने उनको भनाइ छ । ‘सर्भिस र भ्याट शुल्क लिन नपाउने भनिए पनि होटल–रेस्टुराँले लिइरहेका छन्, महानगरपालिकासँग आफ्नै अनुगमन टोली पनि छ,’ उनले भने, ‘संयोजक तोकेर मूल्यको अनुगमन गर्छौं ।’ मेनु मूल्यमाथि अतिरिक्त मूल्य नलिन वाणिज्यले कात्तिक २ मा सूचना प्रकाशन गरेको थियो । उल्लिखित मूल्यमा कुनै किसिमको अतिरिक्त रकम लिए उपभोक्ता संरक्षण ऐन ०७५ तथा नियमावली ०७६ बमोजिम कारबाही गरिने जनाएको थियो । तर कारबाही सूचनामा मात्रै सीमित भएको छ । सर्वसाधारण ठगिए पनि होटल–रेस्टुराँलाई अनुगमन र कारबाही गरिएको छैन ।
वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले पनि मेनु मूल्यभन्दा बढी शुल्क लिन नपाइने बताए । अदालतबाट पनि आदेश आइसकेको विषयमा प्रभावकारी नियमन नहुँले उपभोक्ता मारमा परिरहेको उनको भनाइ छ ।
‘उपभोक्ता र मूल्यको विषय वाणिज्य विभागले हेर्नुपर्छ । करको विषयमा आन्तरिक राजस्व विभागले हेर्ने हो । अदालतको आदेश करिब ५० प्रतिशत कार्यान्वयन भएको छ,’ उनले भने, ‘मूल्यका विषयमा भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशमा रहेका उपभोक्ता हित निर्देशनालयले गर्नुपर्छ ।’ होटल रेस्टुराँले अतिरिक्त शुल्क लिएको प्रमाणसहित उजुरी परे कारबाही गरिने उनको भनाइ छ ।
Central Office Balaju –16, Kathmandu
crinvestigationforum@gmail.com
Tel: +977 1 4359459
Mob: 9841078209, 9841519971
Fax: +977 1 4359459
“खाद्यवस्तु स्वस्थ्य राख्नको लागि उत्पादन, भण्डारण र वितरण कार्य व्यवस्थित गरौं ।”
“स्वस्थ्य खाना उपभोक्ताको चाहाना ।”
“स्वस्थ्य खाऔं निरोगी भएर बाचौं ।”
“स्वस्थ्य खाना पाउने अधिकार नयाँ संविद्यानमा सुनिश्चित गरियोस् ।”
“उपभोक्तालाई स्वस्थ्य बस्तु उपलब्ध गराउनु प्रदायकको दायित्य हो ।”
“विषाधीको प्रयोग घटाऔं कृषि उत्पादनलाई स्वस्थ्य बनाऔं ।”
“म्याद नाघेको खाद्यवस्तु उपभोग नगरौं ।”
“ख्राद्यवस्तुमा अखाद्यवस्तुको मिसाउनु अपराध हो ।”
“उपभोक्ता अधिकार हामी सबैको सरोकार ।”
“उपभोक्ता अधिकारको सम्मान गरौं ।”
“हामी सबै उपभोक्ता, हाम्रो अधिकार उपभोक्ता अधिकार । ”
“उपभोक्ता अदालत गठन गरौं ।”
“लेवल हेरेर सामान खरिद गरौं ।”