नयाँ धान आउँदा बिगतमा घट्ने गरेको चामलको भाउ यसपटक भने बढेर बजारमा आएको छ। चामलको मूल्य बोरामै तीन सय रुपैयाँसम्म बढेको व्यवसायीहरुले बताएका छन्।
बिगतमा नयाँ धान आउँदा वर्षेनी चामल बोरामा ४ सय रुपैयाँसम्म घट्ने गरेको थियो। गत वर्ष बेमौसमी वर्षाले क्षति हुँदा धान उत्पादन घटेपछि चामलको मूल्य अपेक्षाकृत रूपमा थोरै मात्र घटेको थियो। चालु आर्थिक वर्षमा धान उत्पादनमा सुधार आएको कृषि मन्त्रालयले जनाएको थियो। तैपनि मूल्य बढेर आएको व्यवसायीको भनाइ छ।
मुलुकमा चामलको बजार माग आन्तरिक उत्पादनले आधा पनि पुग्दैन। भारतबाट आयात हुने परिमाण वर्षेनी बढेको छ। भारतले चामल निर्यातमा लगाएको शुल्कको असर नेपालमा सोझै परेको खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।
‘भारतले धान-चामल निर्यातमा २० प्रतिशत शुल्क लगाएको छ। यसले हाम्रो बजारमा चामल भेराइटीअनुसार बोरामा २ सय रुपैयाँभन्दा बढी नै वृद्धि भएको हो,’ उनले भने, ‘पहिले चामल आयात गर्दा अतिरिक्त शुल्क थिएन, त्यसैले नयाँ धान आएको सिजनमा चामल सस्तो हुने गरेको थियो।’
चामलको गुणस्तर अनुसार बजारमा मूल्य फरक फरक छ। २५ केजी जिरा मसिनो चामल थोक मूल्य बोरामै २१ सय रुपैयाँ पुगेको छ। ‘थोकमै बढेपछि खुद्रा व्यापारीले बोरामा एक सयदेखि १५० रुपैयाँसम्म मूल्य बढाएर बिक्री गरिरहेका हुन्,’ उनले भने। बजारमा चामलको अभाव भने नभएको उनले बताए।
‘होलसेलहरुमा प्रशस्त स्टक भएकाले खासमा चामलको मूल्य घट्नु पर्ने हो। मंसिरमा नयाँ धान आउँदा पुरानो चामलको मूल्य घट्ने गरेको थियो,’ उनी भन्छन्, ‘यो परम्परागत रुपमा चलिआएको थियो। तर, गत वर्षदेखि भने बजारमा नयाँ धान आएपछि पनि मूल्य नघटेर बढिरहेको छ।’
सबैजसो चामलको मूल्य केजीमा १० रुपैयाँ बढेको किराना व्यवसायी कृष्ण भट्टले बताएका छन्। उनका अनुसार मूल्य एक सातादेखि बोरामा २ सय रुपैयाँसम्म बढेको छ। ‘जिरा मसिनोको बोरामा थोकमै २१ सय पुगेको छ। अरू चामलहरु पनि बोराको १८ सयदेखि माथि नै पर्न थालेको छ,’ उनले भने। लङ ग्रेन चामलमा पनि केजीमा १० रुपैयाँ मूल्य बढेको उनले बताए।
सहुलियत दरमा खाद्यान्न बिक्री गर्दै आएको साल्ट ट्रेडिङले पनि चामलको मूल्य बोरामै बढेर आएको जनाएको छ। ३ सय रुपैयाँभन्दा बढी बढेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। ‘हामीकहाँ अहिले पुरानो स्टक छ, त्यसैले बिक्री मूल्य बढाएका छैनौं,’ उनले भने, ‘स्टक सकिएपछि नयाँ खरिदको चामलमा भाउ बढ्न सक्छ।’
चितवनको दिनेश खाद्य मिलका संचालक पशुपति डल्लाकोटीले भारतबाट बढेर आउँदा खरिद परेको लागतले खुद्रासम्म मूल्य पनि बढेको बताए। ‘अहिले चामलको भाउ उद्योग र व्यवसायीहरुले बढाएका होइनन्। मिलहरुसँग धान र चामलको स्टक नभएर पनि मूल्य बढेको होइन,’ उनले भने, ‘भारतले एकैपटक निर्यात शुल्क २० प्रतिशत कायम गरेपछि उतैबाटै धानको महँगो भएर आएकाले चामलको भाउ बढेको हो ।’
भारतमा पनि धानको उत्पादन घट्दो रहेकाले नेपाली व्यवसायीले सस्तोमा खरिद गर्न नपाएको उनको भनाइ छ। ‘खरिदमै महँगो पर्दा सस्तो बेच्न सकिँदैन,’ उद्योगी डल्लाकोटीले भने।
भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ। साउनदेखि मंसिरसम्म नेपालमा १२ अर्ब ६५ करोड रुपैयाँको २ लाख ८२ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको छ। गतवर्ष सोही अवधिमा २० अर्ब ४९ करोड रुपैयाँको ५ लाख ६ हजार मेट्रिक धान, चामल र कनिका आयात भएको थियो।
गतवर्षको तुलनामा आयात परिमाण ४४ प्रतिशत र आयात रकम ३८.२ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७८ करोड रुपैयाँको १३ लाख ३४ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको थियो। आव २०७८/७९ मा आयात परिमाण १५.२९ प्रतिशतले घटेर ११ लाख ३० हजार मेट्रिक टन आएको थियो।
उक्त परिमाण ४७ अर्ब ५७ करोड रुपैयाँमा आयात भएको हो। अघिल्लो वर्षको तुलनामा गतवर्ष आयात रकम ६.३ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ। आयात भएको धान, चामलमध्ये बासमती चामलको हिस्सा करिब २ अर्ब रुपैयाँको छ।
नेपालमा वर्षेनी ४० लाख मेट्रिक टन चामलको आवश्यक रहेको तथ्यांक छ। स्वदेशी उत्पादनले बजारको माग धान्दैन। खेतीयोग्य जमिन घट्दै गएकोले चालु आर्थिक वर्षमा स्वदेशी धानको उत्पादन ५४ लाख मेट्रिक टन छ।
Central Office Balaju –16, Kathmandu
crinvestigationforum@gmail.com
Tel: +977 1 4359459
Mob: 9841078209, 9841519971
Fax: +977 1 4359459
“खाद्यवस्तु स्वस्थ्य राख्नको लागि उत्पादन, भण्डारण र वितरण कार्य व्यवस्थित गरौं ।”
“स्वस्थ्य खाना उपभोक्ताको चाहाना ।”
“स्वस्थ्य खाऔं निरोगी भएर बाचौं ।”
“स्वस्थ्य खाना पाउने अधिकार नयाँ संविद्यानमा सुनिश्चित गरियोस् ।”
“उपभोक्तालाई स्वस्थ्य बस्तु उपलब्ध गराउनु प्रदायकको दायित्य हो ।”
“विषाधीको प्रयोग घटाऔं कृषि उत्पादनलाई स्वस्थ्य बनाऔं ।”
“म्याद नाघेको खाद्यवस्तु उपभोग नगरौं ।”
“ख्राद्यवस्तुमा अखाद्यवस्तुको मिसाउनु अपराध हो ।”
“उपभोक्ता अधिकार हामी सबैको सरोकार ।”
“उपभोक्ता अधिकारको सम्मान गरौं ।”
“हामी सबै उपभोक्ता, हाम्रो अधिकार उपभोक्ता अधिकार । ”
“उपभोक्ता अदालत गठन गरौं ।”
“लेवल हेरेर सामान खरिद गरौं ।”