पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपियाँ र मैदा प्रतिकेजी २० रुपियाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपियाँसम्म बढेको छ ।
सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहँुको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन ?,” अध्यक्ष वज्राचार्यले प्रतिप्रश्न गर्नुभयो । यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ ।
खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको अनुभव सुनाउनुभयो । खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा पर्नेगरेको गुनासो उहाँको छ ।
“ठूलो परिणाममा लिने पुँजी हुँदैन, थोरै थोरै किन्दा थोक व्यापारीले पटकैपिच्छे भाउ बढाउँछन्, यता उपभोक्ताले भाउ बढाइस् भनेर हामीलाई नै गाली गर्नुहुन्छ,” उहाँले भन्नुभयो ।
थोक व्यापारीको संस्था नेपाल किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामलको मूल्य बोरामै चार सयदेखि ५०० रुपियाँ बढेको छ । यस्तै मैदा र आँटाको मूल्य पनि व्यापारीअनुसार बढेको छ ।
भारतबाट बङ्गलादेशमा चामल निर्यात बढेकाले भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ । यस्तै गहुँ आयातमा लागेको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्य पनि बढेको उहाँको भनाइ छ ।
त्यसो त कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्कले भने यो वर्ष धान उत्पादन गत वर्षभन्दा सुधार भएको तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिकटन धान उत्पादन भएको छ । जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिकटन धान आवश्यक हुन्छ । धान उत्पादनको तथ्याङ्क हेर्दा नेपाललाई १४ लाख मेट्रिकटन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्याङ्कले भने हरेक तीन महिनामा चार अर्बको चामल नेपालमा आयात भएको देखाएको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असक्षमताको प्रत्यक्ष प्रभाव बजारमा परेको बताउनुभयो । उपभोक्ता संरक्षण ऐनअनुसार सरकारले बजारको तह र समर्थन मूल्य तोक्ने काम नभएसम्म बजार भाउमा सीमित व्यापारीको चलखेल भइरहने उहाँको भनाइ छ । “बजारमा मूल्य मात्रै होइन, वस्तु, सेवा र गुणस्तरमा झन् ठूलो समस्या छ तर यसमा कसैको पनि ध्यान गएको छैन,” उहाँले भन्नुभयो । भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ । साउनदेखि मङ्सिरसम्म नेपालमा १२ अर्ब ६५ करोड रुपियाँको दुई लाख ८२ हजार मेट्रिकटन धान, चामल र कनिका आयात भएको छ ।
विभागका महानिर्देशक महेश भट्टराईले नेपालले चामल आयात गर्ने स्रोत देशले नै भन्सार महसुल २० प्रतिशत बढाएकाले उपभोक्ताको भान्सासम्म पुग्दा मूल्य बढ्नुलाई स्वाभाविक रहेको बताउनुभयो । “विभागले चामल, आँटा र मैदाको मूल्य अनुगमन गरेको छ तर अहिलेसम्म अस्वभाविक मूल्य देखिएको छैन, त्यस्तो भेटिएका व्यापारिक फर्मलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही वा जरिवाना गरेका छौँ,” उहाँले भन्नुभयो ।
सङ्घका अनुसार जिरा मसिनो चामलको खुद्रा बिक्री मूल्य ८५ रुपियाँबाट प्रतिकेजी ९५ देखि १०० रुपियाँसम्म पुगेको छ । यस्तै प्रतिकेजी ८० रुपियाँमा पाइने साधारणखाले मैदाको मूल्य अहिले ९५ देखि १०० रुपियाँ पुगेको छ ।
Central Office Balaju –16, Kathmandu
crinvestigationforum@gmail.com
Tel: +977 1 4359459
Mob: 9841078209, 9841519971
Fax: +977 1 4359459
“खाद्यवस्तु स्वस्थ्य राख्नको लागि उत्पादन, भण्डारण र वितरण कार्य व्यवस्थित गरौं ।”
“स्वस्थ्य खाना उपभोक्ताको चाहाना ।”
“स्वस्थ्य खाऔं निरोगी भएर बाचौं ।”
“स्वस्थ्य खाना पाउने अधिकार नयाँ संविद्यानमा सुनिश्चित गरियोस् ।”
“उपभोक्तालाई स्वस्थ्य बस्तु उपलब्ध गराउनु प्रदायकको दायित्य हो ।”
“विषाधीको प्रयोग घटाऔं कृषि उत्पादनलाई स्वस्थ्य बनाऔं ।”
“म्याद नाघेको खाद्यवस्तु उपभोग नगरौं ।”
“ख्राद्यवस्तुमा अखाद्यवस्तुको मिसाउनु अपराध हो ।”
“उपभोक्ता अधिकार हामी सबैको सरोकार ।”
“उपभोक्ता अधिकारको सम्मान गरौं ।”
“हामी सबै उपभोक्ता, हाम्रो अधिकार उपभोक्ता अधिकार । ”
“उपभोक्ता अदालत गठन गरौं ।”
“लेवल हेरेर सामान खरिद गरौं ।”