उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

भारतबाट पेट्रोल र डिजलको भाउ लिटरमा ८ रुपैयाँ बढेर आयो, ग्यास ७५ रुपैयाँले घट्यो


भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर आएको हो।

आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ।

यस्तै, मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ। तर एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ।मूल्य घटेर आएपनि अझै पनि निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमलाई एलपीजीमा मात्र १५ दिनको घाटा ५५ करोड रुपैयाँ छ। चार महिनादेखि निगम नाफा कमाउँदै आएको छ। यही अवधिमा निगमले सरकारलाई र आइओसीलाई ऋणको किस्ता तिर्दै आएको छ।

आइओसीलाई ५० अर्बभन्दा माथि बक्यौता तिर्न बाँकी रहेको निगमले हाल उक्त ऋणलाई लगभग १७ अर्ब रुपैयाँमा सीमित गरेको छ। ४ महिनामा कमाएको नाफा आम्दानी सबै ऋण चुक्तामा खर्च भएको निगमको भनाइ छ।

निगमका अनुसार नयाँ मूल्यसूचीले हाल भइरहेको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा ८ करोड ४१ लाख रुपैयाँ घाटा हुनेछ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।