उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

असोज ११ बाट सबै वस्तुमा न्यूनतम मूल्य उल्लेख हुने


-तुलसी सुवेदी-

काठमाडौं, २५ साउन । स्वदेशी उत्पादन एवम् विदेशी आयातित बस्तुको न्यूनतम मूल्य (एमआरपी) तोकिने भएको छ । उपभोक्ता ठगी नियन्त्रण गर्नका लागि सरकारले असोज ११ गतेदेखि लागु हुनेगरी सबै मूल्यमा न्यूनतम मूल्य निर्धारण गर्न लागेको हो । वाणिज्य विभागको एक समितिले सबै बस्तुको मूल्य निर्धारण गर्नका लागि अहिले गृहकार्य गर्दैछ । वाणिज्य विभागका अनुगमन निर्देशक हरिनारायण बेल्वासेले हरेकपल डट कमसंग कुरा गर्दै उपभोक्ता ठगिनबाट सचेत बनाउनका लागि न्यूनतम मूल्य निर्धारण गर्न लागिएको बताए ।
बेल्वासेका अनुसार विदेशबाट आयात हुने वस्तु अब कहाँ उत्पादन भएको, कसले नेपालमा भित्र्याएको हो, त्यसको न्यूनतम मूल्य कति हो भन्ने उल्लेख गर्नुपर्ने छ । आयातित वस्तुमा आयातकर्ताले आफ्नो नाम ठेगाना, उत्पादकको नाम, ठेगाना, र न्यूनतम मूल्य समावेश नहुने वस्तु नकिन्न समेत अनुगमन निर्देशक बेल्वासले आग्रह गरे ।
‘असोज ११ पछि आयात हुने एवम् उत्पादन हुने सबै बस्तुमा न्यूनतम मल्य निर्धारण हुनेछ’–‘उनले भने ‘न्यूनतम मूल्य नभएका वस्तु ठगीका लागि आएका हुन सक्छन् ।
न्यूनतम मूल्य निर्धारण भएपछि चोरीका सामान पूर्णतया बन्द हुने छन् । त्यस्तै भन्सारमा न्यून बिजीकरण गर्ने र यहाँ चरम मूल्यमा बिक्री गरेर उपभोक्ता ठगिनबाट जोखिन सक्ने अनुगमन निर्देशक बेल्वासले बताए ।
प्याकेजिङ नहुने वस्तुमा आयातकर्ताले फारम भरेर आयातित वस्तुको मूल्यसहितको विस्तृत विवरणसहित फारम भर्नुपर्ने छ । स्वदेशी उत्पादनको पनि न्यूनतम मूल्य निर्धारण हुने छ । उद्योगीहरुले आफ्नो उत्पादन खर्चलगायत समेटेर मूल्य निर्धारण गर्न पाउने छन् ।
न्यूनतम मूल्य समावेश हुन नसक्दा व्यापारीले ग्राहकलाई पाँच गुणासम्म ठग्ने गरेका छन् । वाणिज्य विभागले अनुगमन गरे पनि प्रभावकारी हुन नसक्दा उपभोक्ता ठगीको मारमा परिरहेका छन् । अहिले बार्गेनिङ गर्न सक्नेले मात्र उचित सामान लिन पाएको छ भने अधिकांश ठगिएका छन् ।  सरकारले बस्तुसँगै सेवाको पनि न्यूनतम मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।  न्यूनतम मूल्य नहुदाँ उपभोक्ताहरु नुनदेखि सुनसम्म सबै सामान किन्दा ठगिएका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सबै वस्तुमा न्यूनतम मूल्य निर्धारण हुन सके पसलैपिच्छे हुने फरक मूल्यबाट उपभोक्ता बच्न सक्ने बताए । व्यापारीले ग्राहक हेरेर मूल्य निर्धारण गर्ने गरेको उनले बताए । ‘अहिले उपभोक्ता ठगिएका छन्, न्यूनतम मूल्य तोकिए धेरै उपभोक्ता ठगिनबाट बच्न सक्छन्’ उनले भने । न्यूनतम मूल्य लागु भए नियमक निकायलाई पनि कारवाही गर्न सजिलो हुने उनको भनाई छ ।

(harekpal.com बाट)