उपभोक्ता अधिकार रक्षा को निम्ति सचेत र सजग बनौ ।

पाकिस्तानी निर्यात व्यापारमा आलुको ठूलो भूमिका, आर्थिक मन्दी टार्न कत्तिको भरपर्दो ?


पाकिस्तान घरेलु बजारको लागि आलु उत्पादनमा मात्र आत्मनिर्भर नभइ निर्यातक पनि हो। त्यसैले पाकिस्तानको निर्यात बढाउन आलुले ठूलो भूमिका खेल्ने आलु अनुसन्धान संस्थान साहिवालले जनाएको छ।

यतिखेर पाकिस्तान आर्थिक मन्दीको चरम विन्दुमा पुगेको छ। पाकिस्तानसँग अहिले एक महिनाको लागि आयात गर्न पुग्ने मात्र विदेशी मुद्रा सञ्चित छ। यस्तो समयमा निर्यात बढाउन सकेमा अर्थ व्यवस्थामा सुधार आउने अपेक्षा उक्त संस्थानले गरेको छ।

यो चालु आर्थिक वर्षको पहिलो चार महिनामा आलु ढुवानीका कारण पाकिस्तानको समग्र तरकारी निर्यात परिमाणमा ९० प्रतिशतले बढेको छ।

पाकिस्तानमा उत्पादन भएका तरकारीहरू हरेक वर्ष उपलब्धताका आधारमा निकासी हुन्छन्। यसमा आलु र प्याजले ठूलो हिस्सा ओगटेका छन्। अल पाकिस्तान फलफूल तथा तरकारी निर्यातकर्ताका संरक्षक वाहिद अहमदका अनुसार पछिल्लो समय प्याजको निर्यात घट्दो क्रममा छ। यसको कमी पुरा गर्न आलु धेरै सहयोगी साबित भएको छ।

गत वर्ष सिन्ध र बलुचिस्तानमा बाढीले प्याज बाली नष्ट गरेको थियो। यसले तरकारीको निर्यात व्यापारमा ठूलो झट्का लागेको थियो। आयातकर्ता र व्यापारी संघ (पीएफभीए) को तथांक अनुसार पाकिस्तानको आलु उत्पादन आर्थिक वर्ष सन् २०२१ मा ५८ लाख ७३ हजार टन उत्पादन भएको थियो।

आर्थिक वर्ष सन् २०२२ मा भने ७९ लाख ९३ टन उत्पादन भएको थियो। जुन २०२१ को भन्दा ३५ प्रतिशतले बढेको थियो। किनभने बाढीले आलु उत्पादनको केन्द्र पञ्जाबलाई असर गरेको थिएन।

यस्तै उक्त बाढीका कारण उद्योगहरुले भने अझै धेरै चुनौतीको सामना गरिरहेको छन्। पाकिस्तानले हरेक वर्ष २० हजार टन आलुको बिउ आयात पनि गर्छ।

आलु अनुसन्धान संस्थान साहिवालले यो अवस्थालाई सुधार गर्न स्थानीय आलुको जात विकास गर्न पहल गरिरहेको छ। यस संस्थानले पीआरआई, सदाफ, साहिवाल, कस्मो, र इजाज २२ लगायतका आलुका जातहरू सिर्जना गरेको छ। साहिवालमा उब्जाउने केही बीउले विदेशी जात जस्तै उत्पादन गर्छ भने कतिपयले त्यसभन्दा बढी उत्पादन गर्छन्।

पाकिस्तानी आलु मुख्यतया रुस, अजरबैजान, इराक, युएई, ओमान, खाडी मुलुकहरु र सुदूर पूर्वको सिंगापुर, मलेसिया जस्ता सीआईएस देशहरूमा निर्यात गरिन्छ। संस्थानका अनुसार यसरी अन्य देशहरुमा समेत निर्यात बढाउन सकेमा आर्थिक रुपले अझ बलियो हुनेछ।

पाकिस्तानी आलुका लागि चीन सम्भावित ठूलो बजार भएको संस्थानको भनाइ छ। किनभने चीनमा आलुको मूल्य हरेक वर्ष जनवरीदेखि अप्रिलसम्म बढी हुन्छ।

यसैगरी पाकिस्तानमा वर्षभरि कुनै न कुनै रूपमा आलु खेती गरिन्छ र यसका लागि बिउ उत्पादन पनि गरिन्छ। संस्थानका अनुसार पाकिस्तानमा वर्षभरी आलुका तीन सिजनमा उत्पादन हुन्छन्।

पहिलोलाई शरद बाली भनिन्छ। यो अक्टोबरमा लगाइन्छ र फेब्रुअरीमा उत्पादन हुन्छ। दोस्रो जनवरीदेखि अप्रिलसम्ममा उत्पादन हुने गर्छ। यसैगरी तेस्रो अप्रिलदेखि सेप्टेम्बरसम्म उत्पादन गरिन्छ।

दुबईको बजारजस्तै अन्तर्राष्ट्रिय बजारमा पनि आकर्षक रंग र आकारका कारण पाकिस्तानको आलुको बढी माग हुन्छ। पाकिस्तानले उक्त अवसरको फाइदा उठाउन पर्नेमा संस्थानले जोड दिएको छ। यस्तै चीनमा समेत निर्यात गर्न सकिने संस्थानको भनाइ छ। चीनसँग ठूलो बजार छ।